काठमाडौं, २८ बैशाख - नेपालले एक चीन नीति लिइरहेको भए पनि उपराष्ट्रपति परमानन्द झाले भारतका लागि ताइवानका राजदूत (इकोनोमिक एन्ड कल्चरल रिप्रजेन्टेटिभ) लाई भेट दिएका छन्।
भेटमा ताइवानका नयाँदिल्लीस्थित राजदूत चुङ क्वाङ तियनले ताइवानले नेपालका भूकम्पपीडितलाई विमानबाट राहतसामग्री पठाउन चाहेको तर नेपाल सरकारले अनुमति नदिएको भन्दै आवश्यक पहल पहल गरिदिन उपराष्ट्रपतिलाई आग्रह गरेको स्रोतले बतायो।
नेपालले ताइवानलाई अलग देशको मान्यता दिएको छैन। नेपालले ताइवानलाई चीनकै एक अभिन्न अंग मान्छ। चीनले पनि ताइवानलाई एक मुलुक दुई व्यवस्था प्रणालीअन्तर्गत आफ्नो अभिन्न अंग मान्दै आएको छ।
ताइवानले भने आफूलाई स्वतन्त्र राष्ट्रका रूपमा दाबी गर्दै आएको छ। भूकम्प गएको भोलिपल्टै वैशाख १३ गते नयाँदिल्लीबाट काठमाडौं आएका चुङक्वाङले उपराष्ट्रपति कार्यालय बहादुर भवनमा उपराष्ट्रपति झालाई भेटेका थिए। उनी अहिले पनि काठमाडौंमै बसेर राहत सामग्री ल्याउने वातावरण बनाउन नेताहरूसँग भेट्न व्यस्त छन्।
भूकम्पपीडितलाई सहयोगका नाममा ताइवानका ती प्रतिनिधिले ताइवानलाई अलग देशका रूपमा चिनाउन उपराष्ट्रपतिलाई भेटेको हुनसक्ने सरकारी अधिकारीहरूको बुझाइ छ।
’अहिलेको स्थितिमा मानवीय सहायता दिनुलाई अन्यथा मान्न हुँदैन। तर ताइवानी अधिकारी नेपालमा बसेर ताइवानको अलग पहिचान खोज्नु गलत छ’, एक उच्च सरकारी अधिकारीले भने।
उपराष्ट्रपति कार्यालयकी कामु सचिव जीवनप्रभा लामाले नयाँदिल्लीका लागि ताइवानी प्रतिनिधिले उपराष्ट्रपतिसँग केही दिनअघि भेट गरेको पुष्टि गरिन्। ’केही दिनअघि भेट भएको हो। भूकम्पपीडितलाई सहयोग दिन चाहेको ताइवानी ती प्रतिनिधिको भनाइ थियो’, उनले भनिन्।
उपराष्ट्रपति कार्यालय स्रोतका अनुसार भेटमा चुङ क्वाङले आफू ताइवानी सरकार र जनताको समवेदना सन्देश लिएर नेपाल आएको भन्दै सरकारले पठाउने राहत सामग्रीसहितको विमानलाई काठमाडौं उत्रिन अनुमति दिन पहल गरिदिन अनुरोध गरेका थिए।
उपराष्ट्रपति झाले ताइवानसँग हालसम्म नेपालको कूटनीति सम्बन्ध स्थापना नभएको भन्दै यसबारे आफूले पहल गर्न नसक्ने जबाफ दिएका थिए। उपराष्ट्रपति र ताइवानी प्रतिनिधिबीचको भेटबारे परराष्ट्र मन्त्रालय बेखबर छ। ’उपराष्ट्रपतिज्यूसँगको उक्त भेटबारे हामीलाई कुनै जानकारी छैन’, परराष्ट्र प्रवक्ता ताराप्रसाद पोख्रेलले अन्नपूर्णसँग भने।
उनले ताइवानले विमान चार्टर गरेर सहायता सामग्री पठाउन खोज्नु कूटनीतिक हिसाबले उपयुक्त नहुने बताए। ’हामी एक चीनप्रति प्रतिबद्ध छौं’, उनले भने। नेपालले एक चीन नीतिअनुसर तिब्बत, ताइवान र हङकङलाई चीनको अभिन्न अंग मान्दै आएको छ।
ती ताइवानी प्रतिनिधिले राजनीतिक दलहरूका नेतालाई पनि भेटी राहत सामग्री नेपाल आउने वातावरण बनाइदिन लबिङ गरेको स्रोतको भनाइ छ। चुङ क्वाङले कांग्रेस निकट केही सभासद्को सहयोगमा दलका नेताहरूसँग भेटिरहेका छन्।
चीनले ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आए पनि सन् १९४९ पछि ताइवानले ’मेनल्यान्ड’बाट अलग रूपमा सरकार चलाउँदै आएको छ। चीनको दाबी ताइवानले अस्वीकार गर्दै आएको छ।
ताइवानलाई हाइटीलगायत विश्वका २२ देशले अलग देशको मान्यता दिएका छन्। भारतले अलग देशको मान्यता नदिए पनि ताइवानको दूतावास (ताइपेई इकोनोमिक एन्ड कल्चरल सेन्टर) खोल्न भने अनुमति दिएको अन्नपूर्ण पोष्ट मा खबर छ।